Thursday Sep 10, 2026


सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोेच्चमा रिट दर्ता

Image
१९ माघ २०७९, बिहिवार
Avatar
नेपालि खबर

सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोेच्चमा रिट दर्ता

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बिहीबार महान्यायाधिवक्ता कार्यालयको तर्फबाट सर्वोच्चमा रिट दर्ता भएको हो । 

क्रिकेटर सन्दीप लामिछानेले एक नाबालिगलाई जबरजस्ती करणी गरेको भन्दै गत भदौ २१ गते परेको जाहेरीका आधारमा कात्तिक १४ गते काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता भएको थियो । काठमाडौं जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएको भन्दै लामिछानेलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने आदेश दिएको थियो । 

तर लामिछाने पक्षका वकिलहरुले भने पीडित भनिएकी किशोरीमाथि जबरजस्ती करणी नभएको दावी गर्दै आएका छन् । किशोरीमाथि जबरजस्ती करणी नभएको र किशोरी पनि नाबालिग नभई उमेर पुगिसकेको दावी गरिएको छ । किशोरीको ठेगाना रहेको स्थानीय तहले किशोरीको जन्ममिति २०६१ असार १८ गते रहेको कागजात काठमाडौं जिल्ला अदालतमा पठाइसकेको छ । 

यही तथ्य र कारणबाट अभियुक्तलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न आवश्यक नरहेको भन्दै उच्च अदालत पाटनले गत पुष २८ गते लामिछानेसँग २० लाख धरौटी माग गरी तारेखमा छाड्ने आदेश गरेको थियो ।

लामिछानेलाई थुना बाहिरबाटै मुद्दा लड्ने गरी धरौटीमा छाड्ने आदेश दिएको भएपनि उच्च अदालतले शर्त सहितको आदेश जारी गरेको थियो । आदेशमा लामिछानेले देश छाड्न नपाउने र उपत्यकाबाट बाहिर जानु परेमा जिल्ला प्रहरी परिसर काठमाडौंको अनुमति लिएर मात्रै जानुपर्ने शर्त तोकेको थियो । 

तर उच्च अदालत पाटनले धरौटीमा छाड्ने गरी गरेको आदेश बेरितको भएको र प्रमाणको उचित मूल्यांकन नभएको भन्दै उक्त आदेश बदर गर्न माग गरी महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत पुगेको हो ।

बिहीबार दर्ता भएको रिट निवेदनमा सन्दीमाथि जघन्य कसुरको अभियोग लागेको र जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिने भनी व्याख्या गरी थुनामा पठाएकामा उच्च अदालत उदार भएको भन्दै धरौटीमा छाड्ने आदेश बेरितको भएको दावी लिइएको छ । लामिछानेमाथि लागेको कसुरमा निजलाई १० देखि १२ वर्षसम्मको कैद सजाय हुन सक्ने भन्दै यस्तो अवस्थामा धरौटीमा छाड्न नमिल्ने जिकिर लिइएको छ । 

पीडितले आफ्नो रिट निवेदनमा असभयुक्तले पटकपटक बलात्कार गरेको र आफूमाथि कुटपीटसमेत भएको भन्दै जाहेरी दिएकामा अभियुक्त बाहिर निस्कँदा पीडित र समाजमा त्रासको अवस्था आउने जिकिर लिइएको छ । हेर्नुहोस् सन्दीपलाई थुनामै राख्न माग गर्दै दायर गरिएको रिट निवेदनको पूर्ण पाठ...।    



Advertisement

सम्बन्धित खबर