पोखरा । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा भेट्न बाँकी शव चारै जना बालबालिका हुन्।
चार जना चालक दलका सदस्यसहित विमानमा सवार ७२ जनामध्ये हालसम्म भेटिएका सबै ६८ जना मृत घोषणा भइसकेका छन्। उक्त विमानमा दुई वर्षभन्दा मुनिका तीनसहित ६ जना बालबालिका रहेका थिए।
रेस्क्यु कोअर्डिनेसन सेन्टरका प्रमुख प्रेमनाथ ठाकुरले हालसम्म बच्चाको जस्तो देखिने एउटा मात्र शव भेटिएको बताए। ‘यसको मतलब अब भेटिन बाँकी सबै शव बालबालिकाका हुन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखसमेत रहेका ठाकुरले भने ।
६८ जनाको शव आइतबार नै रिकभर भएको थियो। शसस्त्र प्रहरी बलको गोताखोर टोलीले बाँकीको खोजी गरिरहेपनि फेला पर्न सकेका छैनन्। फेला परेका शवलाई गण्डकी प्रादेशिक अस्पतालमा राखिएको छ।
ठाकुरका अनुसार काठमाडौंबाट दुई जना फरेन्सिक चिकित्सकको टोलीलाई सोमबार पोखरा पठाइँदै छ। उनीहरुले फेला परेका शवलाई कसरी पहिचान र हस्तान्तरण गर्ने भन्ने निर्णय गर्ने ठाकुरले बताए। ‘केही शवको सनाखत पनि भएको छ। तर सबै निर्णय फरेन्सिकको टोली पुगेपछि मात्र हुने छ’ उनले भने ।
आइतबार पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौं घर भएकाहरु लगायत १९ जनाभन्दाबढीकाे शव काठमाडौँ ल्याइने भएको छ ।
दुर्घटनामा निधन भएकामध्ये पोखराका नागरिकको हकमा पोखरामै पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ भने काठमाडौं ल्याइने शवको हकमा काठमाडौंमै पोस्टमार्टम गरिनेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानका चालक दलका सदस्य तथा विदेशी नागरिक र काठमाडौं घर भएकाहरुको शव काठमाडौं ल्याइनेछ । उनका अनुसार शवको पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट तीन सदस्यीय विशेषज्ञ टोली पोखरा जादैछ ।
माघ १ गते आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘नाईन एनएनएसी’ ६९१ उडानको एटीआर(७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए ।
दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा गोतखोरकोटोलीसहित विमानस्थको ‘रेस्क्यू एण्ड फायर फाइटिङ’ टोलीले उद्धार जारी राखेको छ ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay